फाइल तस्विर

हाल जारी लकडाउनबारे छलफल गर्न आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकले लकडाउनको मोडल परिमार्जन हुने वा यसैलाई निरन्तरता दिने विषयमा निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ ५ः३० बजे बस्ने तय भएको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

बैठकपूर्व लकडाउनको मोडल कस्तो रहने भन्ने विषयमा आजै कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ । समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ः३० बजे बैठक बस्नेछ । समितिकाे बैठकमा लकडाउनलाई कसरी अघि बढाउने र त्यसको मोडल कस्तो बनाउने भन्ने विषयमा समेत छलफल हुनेछ । सोही बैठकले गर्ने निर्णयलाई आजै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पेश गरिनेछ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय सीमा भोलि सकिँदै छ ।

उपप्रधान रक्षामन्त्री एवम् कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले रोकथाम समितिका सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीसँग बिहान ९ बजे पुल्चोकमा बैठक बस्नुभएको छ । बैठकमा लकडाउनलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भएको थियो । त्यही छलफलको आधार र उपप्रधान रक्षामन्त्री एवम् कोरोना –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेको सिफारिस आज बस्ने मन्त्री परिषद्को बैठकमा पेश भएपछि लकडाउनको मोडालिटीकाे विषयमा निर्णय हुनेछ ।