अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सुपर १२ अन्तर्गत समूहको अन्तिम खेल सकिएसँगै दुवै समूहको शीर्ष २ टोलीको टुंगो लागेको हो ।
समूह १ बाट न्युजिल्यान्ड समूह विजेता बन्द इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यता समूह २ बाट भारत समूह विजेता बन्यो । पाकिस्तान समूहको उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड र पाकिस्तानले न्युजिल्यान्डको सामना गर्नेछ । निकै प्रतिक्षा गरिने भारत र पाकिस्तानबीचको खेल फाइनलमा पुन: हुने सम्भावना रहेको छ । समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७-७ अंक भएपनि नेट रनरेटका आधारमा शीर्ष दुई टोली अघि बढेका थिए । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल वर्षाले रद्द हुनुले समूहको समीकरणमा असर परेको थियो । श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोडे ।
समूह २ मा भारतले ५ खेलमा ४ जितसहित ८ अंक जोड्यो । पाकिस्तानले ३ जितसहित ६ अंक जोड्यो । दक्षिण अफ्रीका आइतबार विहान नेदरल्यान्ड्ससँग पराजित हुँदा नाटकीय ढंगले सेमिफाइनल नपुग्दै बाहिरियो । टोलीले ५ खेलमा ५ अंक जोडेको थियो । नेदरल्यान्ड्सले समान ४ अंक जोडेको बंगलादेशलाई रनरेटमा पछि पार्यो । जिम्बावेले ३ अंक जोड्यो ।