अस्ट्रेलियामा जारी आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत समूह विजेताको रूपमा अन्तिम चारमा पुगेको हो ।
भारतले दिएको १ सय ८७ रन को लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि रायन ब्रुलले ३५ रन जोड्दा सिकन्दर राजाले ३४ रन बनाए । कप्तान क्रेइग इर्भिनले १३ तथा सिन विलियम्सले ११ रन बनाए । भारतका रविचन्द्र आश्विनले ३ तथा मोहमद सामी र हार्दिक पाण्डयले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ खेले । विराट कोहलीले २६ रन जोड्दा हार्दिक पाण्डयले १८ तथा कप्तान रोहित शर्माले १५ रन जोडे । जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । जितसँगै भारतले समूह २ मा ५ खेलमा ८ अङ्क जोड्यो । र, शीर्ष स्थानमा रह्यो । जिम्बावे भने ३ अङ्क जोडेर समूहको पुछारमा रह्यो ।
यस समूहबाट पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्यो । पाकिस्तानले ५ खेलमा ६ अङ्क जोड्यो । भारतको यस जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड तथा न्युजिल्याण्डले पाकिस्तानको समान गर्नेछ । समूह १ बाट न्युजिल्याण्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो ।