राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनु भएकाे छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङमा आइतबार १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उहाँले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गर्नुभयाे ।
राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयाे । उक्त असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उहाँले बताउनु भयाे । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयाे । यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो । सामाजिक भावना राखी गाउँमै अस्पताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उहाँले बताउनुभयाे । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयाे । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उहाँले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयाे ।