कैलाश, असार १५ । मकवानपुरको कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १९४ जना विद्यार्थी मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गतवर्षको तुलनामा यसवर्ष नतिजामा सुधार भएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पहिलो पटक पालिका भित्रै परीक्षा केन्द्र सञ्चालन भएसँगै नतिजामा सुधार भएको उनले बताए । गाउँपालिकाले शिक्षामा क्रमशः विकास हुँदै गइरहेको अवस्थामा आगामी वर्ष यसभन्दा बढी सुधार हुनेमा विश्वास व्यक्त गरे । परीक्षा केन्द्रलाई आगामी वर्ष अझै व्यवस्थित बनाइने बताएका छन् ।
परीक्षामा सहभागी मध्ये १४९ जनाको एनजी आएको शिक्षा शाखाका प्रमुख समीर जोशीले बताए । गाउँपालिकामा २३.२ प्रतिशत विद्यार्थी उर्तिण भएका छन्, । ग्रेड वृद्धितर्फ ७७ जनाले परीक्षा दिएका मध्ये १८ जना उर्तिण भएका छन्, जोशीले भने । उत्कृष्ट जिपिए ल्याउने ४ जना विद्यार्थी मध्ये कालिका माविका छात्रा आयुष्मा घिसिङ (३.६५ जिपीए), सरस्वती नेगी (३.४७ जिपीए) ममता थिङ (३.४३ जिपीए) र व्यास माविका छात्रा सुमित्रा लो (३.२४ जिपीए) ल्याउँदै उष्कृष्ट बनेको प्रमुख जोशीले बताए ।
गाउँपालिकाको कमलादेवी माविको २८ जना मध्ये १२ जना उर्तिण भएका छन् । त्यस्तै, भवानी माविको ४६ जना मध्ये ५ जना, व्यास माविको ४८ जना मध्ये ८ जना, धुवाङ माविको ९ जना मध्ये १ जनाले एसइइ उर्तिण गरेका छन् । यसैगरी कालिका माविका ४५ जना मध्ये १३ जना र रत्नज्योति माविका १८ जना मध्ये ६ जनाले एसईइ परीक्षा उर्तिण गरेको प्रमुख जोशीले बताए ।