मकवानपुर– हेटौंडामा शुक्रबार स्थानीय तहमा वित्तीय संघीयता र प्राकृतिक स्रोत परिचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा मकवानपुरका स्थानीय तहहरुलाई वित्तिय संघीयताको अवयव र प्राकृतिक स्रोतको परिचालन तथा आयोगका काम कारबाहीका विषयमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगको काम कारबाही तथा वित्तीय संघीयता र प्राकृतिक स्रोत परिचालनका विषयमा अभिमुखिकरण गराउनुभएको थियो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारहरुले एक आपसमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनतालाई सेवा प्रवाह गर्नका लागि वित्तीय तथा प्राकृतिक स्रोतको प्रभावकारी परिचालनका सन्दर्भमा आयोगले काम गरिरहेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच हुने राजस्वको बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा आन्तरिक ऋण र प्राकृतिक स्रोतको बाँटफाँटका सम्बन्धमा जानकारी दिनुभएको थियो । संविधान प्रदत्त अधिकार क्षेत्रभित्र रही तीनै तहका सरकारहरुबीच हुने वित्तीय हस्तान्तरण तथा प्राकृतिक स्रोतको सन्तुलित तथा समन्यायिक बाँडफाँट सुनिश्चित गर्ने कार्य आयोगले गर्ने गरेको उहाँले बताउनुभयो ।

आयोगका अध्यक्ष बालानन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको उपस्थिती थियो ।