काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्णयबाट नेकपा एमाले पुनः स्थापित भएपछि पार्टीको केन्द्रीय कमिटी तथा संसदीय दलको बैठकले गरेका निर्णयहरूबाट पछाडि फर्कने अवस्था नरहेको बताउनुभएको छ । नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री आलीले पार्टीको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनालको समूहले माग गरेजस्तो फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठक तथा त्यस पछाडिका केन्द्रीय कमिटी तथा संसदीय दलको बैठकका निर्णयबाट पार्टी पछाडि फर्कने अवस्था नरहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अब पार्टीमा गुटगत आधारमा कुनै पनि समूहसँग छलफल र बहस नहुने समेत जानकारी गराउनुभएको नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बैठकमा प्रतिनिधि सभाको जारी अधिवेशन अबको केही दिनभित्रै अन्त्य हुने र वैशाखमा बजेट अधिवेशन आह्वान हुने जानकारी दिनुहुँदै सांसदहरूलाई बजेटको तयारी लाग्न तथा आवश्यक सुझावहरू उपलब्ध गराउन निर्देशन दिनुभएको मुख्य सचेतक भट्टराईले बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएका नेताहरूमध्ये दुई जना नेताहरूको स्पष्टीकरण आएको र आएका दुवै स्पष्टीकरणहरू अत्यन्त नकारात्मक रहेका कारण कारबाहीको भागिदार हुने खालको रहेको बताउनुभयो ।

आजको बैठकमा यस अगाडिको बैठकमा अनुपस्थित हुँदै आएको पार्टीको माधव नेपाल झलनाथ खनाल समूहका अधिकांश सांसदहरू समेत सहभागी हुनुभएको थियो । बैठकमा झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले आफ्ना भनाई राख्नुभएको थियो । बैठक पछि सञ्चार कमीहरूसँग कुरा गर्नुहुँदै नेता योगेश भट्टराईले बैठकमा आफूहरूले सर्वोच्च अदालतको निर्णयपछि पार्टीको संसदीय दल पार्टी एकीकरणको पूर्व अवस्थामा फर्किएजस्तै पार्टीका सम्पूर्ण कमिटीहरू पनि पूर्ववत् अवस्थामा फर्कनुपर्ने माग राखेको जानकारी दिनुभयो । बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, नेता भीम रावल लगायतका केही सांसदहरू भने अनुपस्थित रहनुभएको थियो ।