परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भू–भागमा भवन निमार्ण गरिरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूमा सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । मन्त्रिपरिषद्को यही असोज १ गते र ६ गते बसेको बैठकका निर्णयहरू सर्वजनिक गर्न आज सञ्चार तथा सूचना मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञवालीले यस किसिमको कुरा २०७३ सालमा पनि आएको तर स्थलगत अध्ययन क्रममा उक्त दुई भुमी नेपाल–चीन सीमाको एक किलोमिटर चीनतर्फ रहेको पाईएको स्पष्ट पार्नुभयो ।
हाल निर्माण गरिएको भवन चीनको सोही क्षेत्रमा रहेको उल्लेख गर्नुहुँदै मन्त्री ज्ञवालीले सञ्चारमाध्यमा आएको हुनाले त्यसको स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाको टोली पुगेको र त्यसबाट थप कुराहरू स्पष्ट हुनेपनि बताउनुभयो । मन्त्री ज्ञवालीले नेपाल र चीनबीच कुनै किसिमको सीमा समस्या नरहेको र कुनै समस्या देखा परेमा दुई पक्षीय छलफलबाट समाधान हुने वातावरण रहेको पनि बताउनुभयो । मन्त्री ज्ञवालीले जनजीवन सहज बनाउन सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकै अवस्थामा खुल्ला गर्दै गएको भएपनि आवश्यक सजगता अपनाउन सबैमा आग्रह गर्नुभयो ।