देशमा जारी राजनीतिक उथलपुथलका बीच पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोग (इसिपी) लाई आग्रह गरेको छ ।पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले ट्वीटरमा शेयर गरेको सचिवालयको अप्रिल ५ गतेको पत्रमा देशको संविधानको प्रावधान अनुसार अप्रिल ३ मा भएको राष्ट्रिय सभा विघटनको मितिदेखि नब्बे दिनभित्र आम निर्वाचन सम्पन्न गर्ने मिति प्रस्ताव गर्न ईसिपीलाई आग्रह गरेको छ ।
“संविधानको धारा ४८ को उपधारा ५ (क) र धारा २२४ को उपधारा (२) मा राष्ट्रपतिले राष्ट्रियसभा विघटन भएको मितिले नब्बे दिन नकाट्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने व्यवस्था गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ । यसले निर्वाचन ऐन २०१७ अनुसार आम निर्वाचनको मिति घोषणा गर्न ईसिपीसँग परामर्श आवश्यक रहेको पनि बताएको छ । पधानमन्त्री इमरान खानको सल्लाहपछि आइतबार अल्वीले पाकिस्तानी संसद भङ्ग भएको घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्री इमरान खानले संसदको उपसभामुखले खानमाथिको अविश्वासको प्रस्तावलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार गरेको केही मिनेटपछि उक्त प्रस्ताव गर्नुभएको थियो । यसैबीच, कामचलाउ प्रधानमन्त्री नियुक्त नहुँदासम्म इमरान खानले प्रधानमन्त्रीका रुपमा निरन्तरता दिनेगरी राष्ट्रपतिले जिम्मेवारी तोक्नुभएको छ । पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रियसभा विघटनको विषयमा विचार गरिरहेको भन्दै नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म जिम्मेवारीलाई निरन्तरता दिन प्रधानमन्त्री खानलाई नै तोकिएको हो ।