मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका ११ जना भूमिहिन परिवारलाई पालिकाले लालपूर्जा वितरण गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार एक कार्यक्रमका बीच बकैया–५, का ११ भूमिहिन सुकुम्वासी तथा भूमिहिन दलित परिवारलाई लालपूर्जा वितरण गर्नुभएको हो ।
गाउँपालिकाले वडा नम्बर ५ मा अव्यवस्थित रुपमा बसोबास गरिरहेका ६४ जना भूमिहिन दलित तथा सुकुम्वासीहरुको भूमि आयोगमा सिफारिस गरेको मध्ये आज ११ जनालाई पुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । “हामीले भुमि आयोगमा ६४ जना निम्न आय भएका भूमिहिन, दलित, गरिब परिवारको सिफारिस गरेका थिथौं, त्यस मध्ये ११ जनाले आज पुर्जा प्राप्त गर्नुभएको हो ।” उहाँले भन्नुभयो । गाउँपालिकाको वडा नम्बर १, २, ५, ६ र ७ लगायत स्थानमा ऐलानी जग्गामा अव्यवस्थित बसोवास रहेको बताउनुहुँदै उहाँले अव्यवस्थित बसोबास तथा भुमिहिन सुकुम्बासी समस्या समाधानका लागि पालिकाले नीतिगत रुपमा प्रयत्न गरेर काम सुरु गरेको बताउनुभयो । उहाँले प्रक्रियागत रुपमा नीति र विधि अनुसार त्यस्ता अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै जाने जानकारी दिनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको लालपूर्जा वितरण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, भुमी आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, बकैया गाउँपालिका पुर्व अध्यक्ष दामोदर खनाललगायतको आतिथ्यता रहेको थियो ।
