प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध राष्ट्रिय खोप अभियानको आज शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित एक समारोहमा प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई टाइफाइडविरुद्धको खोप क्यारियर हस्तान्तरण गर्नुभई खोप अभियानको शुभारम्भ गर्नुभयो ।नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको टाइफाइट रोग नियन्त्रण गर्न खोप अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले सबै बालबालिकालाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दक्षिण एसियामै पहिलो पटक टाइफाइट विरुद्धको खोप नेपालबाट सुरु गरिनुले सरकार जनताको स्वास्थ्यप्रति चिन्तित रहेको छ भनी प्रमाणित गरेको बताउनुभयो ।विश्वमा उत्पादन भएका १६ प्रकारका खोपमध्ये नेपालमा १२ प्रकारका खोपलाई राष्ट्रिय खोप अभियानमा समावेश गरिएको जानकारी दिनुहुँदै स्वास्थ्य मन्त्री खतिवडाले निकट भविष्यमा अरू खोपहरू पनि क्रमशः अभियानका रुपमा ल्याइने बताउनुभयो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले केन्द्र सरकारले सञ्चालन गर्न लागेको खोप अभियान सफल पार्न प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबै बालबालिकालाई खोप लगाउन ६ सय वटा विद्यालयहरूमा स्वास्थ्यकर्मीहरू खटाइएको जानकारी दिनुभयो । राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको टाइफाइड खोप १५ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट लगाइदैछ ।खोप अभियानअन्तर्गत करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।