फाइल तस्विर

हेटाैंडा– नेपालमा हालसम्म ५० प्रतिशत बढीले कोरोना भाइरसको सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गरेका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप चार सय ३१ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएसंगै संक्रमण मुक्त हुने दर ५० दशमलव ५ पुगेकाे हाे ।

आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट चार सय ३१ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या आठ हजार चार सय ४२ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । यसै गरी आज देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा तीन हजार छ सय ४८ जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी अनुसार आज प्रदेश नं. १ मा १३ जना, प्रदेश नं. २ मा पाँच जना, वाग्मती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १६ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १६ हजार सात सय १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा आज २४ हजार ९७ जना रहेका छन् भने आठ हजार दुई सय ३९ जना विभिन्न आइसोलेसन सेन्टर हरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।