हेटौंडा– हेटौंडामा फिनिक्स फार्म (चिकेन हाउस)ले कुखुराको शुद्ध मासु बिक्री वितरण सुरु गरेको छ । हेटौंडा–२ पल्पसा रोडमा बिक्री कक्ष स्थापना गरी मासु बिक्रि वितरण सुरु गरेको हो । बुधबार विहान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले चिकेन हाउसको उद्घाटन गर्नुभएको हो । चिकेन हाउसको उद्घाटन गर्दै प्रमुख खुलालले अत्याधुनिक मेसिन प्रयोग गरी सस्तो सुलभ र सफा मासु बेचविखन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, होटल एशोसियसन अफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, मउवा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने लगायतको उपस्थिती रहेको थियो । कुखुराको मासु अत्याधुनिक प्रविधिबाट तयार गरि बिक्रि वितरण गरिने चिकेन हाउसका सञ्चालक मनिष मान श्रेष्ठले जानकारी दिनुभयो । आफ्नै पोल्ट्री फार्मको कुखुराको मासुसंगै बिक्री कक्षमा कुखुराको अण्डा पनि उपलब्ध गराईने सञ्चालक श्रेष्ठ बताउनुभयो ।
१५ लाख लगानीका अत्याधुनिक मेसिन खरिद गरी मासु विक्रीवितरण गरिएको बताईएको छ । हाल बजारमा बोइलर कुखुराको मासु २ सय ७० देखि ३ सय रुपैयाँसम्म प्रतिकिलोमा बिक्रि वितरण भईरहेको छ । तर, चिकेन हाउसले २ सय ४० रुपैयाँसम्म प्रतिकिलो मासु बिक्री गर्ने सञ्चालक श्रेष्ठको भनाई छ । चिकेन हाउसले निकट भविष्यमै बिक्री कक्षबाट खशी, बोकाको पनि मासु उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताउनुभयो । मनिष मान र अम्निष मान श्रेष्ठले हेटौंडाको राजदेवी स्थित एक विगहा क्षेत्रफलमा करीब १ करोडको लगानीमा फिनिक्स फार्म सञ्चालन गर्नुभएको छ ।