file photo

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नारी सशक्तीकरणका लागि सबै क्षेत्रले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । बुधबार ८ मार्च, अर्थात् ११३औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुभकामना व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख शर्माले सबै क्षेत्रमा नारी/पुरुषले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।
सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिकाको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख शर्माले लैंगिक समानताका लागि नेपालको संविधानतथा राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले महिला हक–अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नु भएको छ । प्रमुख शर्माले लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरु मध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताउनुभएको छ । यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा जोड दिनु भएको छ । शुभकामना संदेशमा प्रमुख शर्माले भन्नुभएको छ, ‘शिक्षा, स्वास्थ्य, सामाजिकीकरण जस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी–पुरुषहरुले हातेमालो गर्दै अघिबढ्नु नितान्त आवश्यक छ ।’
प्रमुख शर्माले नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न यो दिवसले प्रेरित गरोस् भँन्ने कामना गर्नुहुँदै ‘पितृ सत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर, न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराँउदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस् ।’भन्ने कामना गर्नु भएको छ । ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ आज अन्तराष्ट्रिय नारी दिवश मनाईदैछ ।