मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका कृषकहरुलाई २२ थान हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले कृषक समूह एवम् कृषि सहकारी संस्थालाई १३ लाख ८० हजार बराबरको २२ थान हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषकहरुबाट माग भए बमोजिम रित पुगेका सम्पुर्णलाई ट्याक्टर वितरण गरेको उहाँले बताउनुभयो । कृषकलाइ ९ एचपीकाे १२ वटा र ७ एचपीकाे १० वटा हाते ट्याक्टर वितरण गरेको उहाँले जानकारी दिनुभयाे । यस अघिपनि गाउँपालिकाले कुर्ले कृषि सहकारी संस्थालाई ११ लाख ३० हजार बराबरको एउटा ठुलो ट्याक्टर वितरण गरेको छ । साथै प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तर्गत प्रगतिशील तरकारी उत्पादन ब्लक संचालक समितिलाई एउटा ट्रयाक्टर हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि विकास निर्देशनालय मार्फत ट्याक्टर प्रदान गरिएको उहाँले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को कृषि यान्त्रिकरण प्रवर्द्वन कार्यक्रम अन्तर्गत कृषक समूह एवम् सहकारीलाई हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष बिदर हुमागाईले जानकारी दिनुभयो । कृषक समूह एवम् सहकारीलाई आज एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्वाले वितरण गर्नुभएको हो । अनुदानमा ट्याक्टर पाएका कृषकलाइ ट्याक्टर वितरण गर्दै उपाध्यक्ष रुम्बाले अब कृषकले पाएका हाते ट्याक्टर जतन गरी चलाउन र कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । कृषि र पशुपालनको प्रचुर सम्भावना रहेको मकवानपुरगढी गाउँपालिकाले कृषि मार्फत समृद्धि हासिल गर्ने लक्ष्य लिएर काम गरिरहेको छ ।