देशभर पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ३ सय ६२ वटा आरटी पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ३८ जना र ४ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज थप ४ हजार ४ सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमका अनुसार यो सङ्ख्या कूल सङ्क्रमितको ७४ दशमलव ९ प्रतिशत हो । मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ लाख १ हजार ६ सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३ सय ४३ जना होम आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । त्यस्तै आज १२ सय ४१ जना आइसियुमा उपचाररत रहेको र २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको डा। गौतमले जानकारी दिनुभयो । यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४ हजार २ सय ५२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।