हेटौंडा । उज्यालो नेपाल पार्टीले हेटौंडा उपमहानगरपालिका वडा नं. १३, १४ र १६ नम्बर वडामा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । चुनावी प्रचार प्रसार गर्ने उदेश्यले यी वडाहरुमा समिति गठन गरिएको हो ।
स्थानीय तहमा पार्टीप्रति जनताको प्रत्यक्ष सहभागिता क्रमशः तीव्र रूपमा बढ्दै गएको पार्टीका प्रतिनिधिहरूले बताएका छन् । नगर क्षेत्रभित्र सामान्य पूर्वाधार र आधारभूत आवश्यकताहरू-जस्तै बाटो, शिक्षा र कपडा जस्ता आधारभूत सुविधाबाट समेत केही स्थानका नागरिक अझै वञ्चित रहेको अवस्थाबारे कार्यक्रममा चर्चा गरिएको थियो।
यस अवसरमा मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा ले स्थानीय जनताको वास्तविक अवस्था देख्दा आफू भावुक भएको उल्लेख गर्दै, “राजनीतिक नेतृत्वको अभाव र विकासका अवसरको कमीले केही बस्ती अझै अन्धकारमय अवस्थामा छन्,” भन्नुभयो। उहाँले उक्त अवस्थालाई वास्तविक रूपमा परिवर्तन गरी क्षेत्रलाई उज्यालो र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। पार्टीका स्थानीय नेताहरूले जनताको आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यका साथ चुनावी अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिएका छन्।









