काठमाडौँ– नेपालमा कोरोना भाइरसबाट आज थप ९ हजार ३ सय ५ जना संक्रमित भएका छन् । आज पिसिआर परीक्षणबाट ९ हजार २ सय ३८ जना तथा एन्टिजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका प्रयोगशालाहरूमा २० हजार ३ सय ६२ वटा नमुनाको पिसिआर तथा ४ सय २४ बटा नमुनाको एन्टिजेन परीक्षण भएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज काठमाडौँमा ३ हजार २ सय ५० जना, ललितपुरमा ४ सय २८ जना र भक्तपुरमा २ सय २६ जना गरी काठमाडौँ उपत्यकामा ३ हजार ९ सय २४ जना संक्रमित थपिएका छन् । यसैगरी आज थप १ सय ६८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ४ हजार २ सय ५२ पुगेको छ ।यस्तै आज थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा .डा. गौतमले जानकारी दिनुभयो ।
आज देश भरमा गरी जम्मा १ लाख १ हजार ६ सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित हरू रहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएदेखि आज पहिलो पटक संक्रमण फैलाउन सक्ने सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख भन्दा माथि पुगेको हो । सक्रिय संक्रमित मध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन तथा ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण भएका १ हजार २ सय ४१ जना सङ्क्रमितको आइसियु तथा २ सय ८५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सय भन्दा बढी बेडसंख्या भएका सम्पूर्ण अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको छ । मन्त्रालयले सय बेड भन्दा माथिका सबै निजी तथा सामुदायिक अस्पतालहरूमा आगामी १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो । यसैगरी मन्त्रालयले बङ्गलादेशबाट प्राप्त १० हजार भाईल रेम्डेसिभिर सम्बन्धित अस्पतालहरूको सिफारिसमा गरिब तथा विपन्न वर्गका बिरामीहरूले प्राप्त गर्ने गरी उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
यस्तै आयन हेल्थ केयरले आयात गरेको २२ हजार भाईल रेम्डेसिभिर औषधि सम्बन्धित चिकित्सकको सिफारिसमा प्रतिभाईल ४ हजार ९ सय रुपैयाँमा कोरोना सङ्क्रमितलाई उपलब्ध गराउने र त्यसको व्यवस्थापन औषधि व्यवस्था विभागले गर्ने पनि निर्णय गरेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्राप्त हुने वैदेशिक सहायता मन्त्रालयको समन्वय महाशाखामार्फत मात्रै ग्रहण गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । स्वास्थ्य सामग्रीको माग र वितरणको सन्तुलन मिलाउन एक द्वार प्रणाली अपनाउने निर्णय भएको प्रवक्ता गौतमले बताउनुभयो । मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा तथा अन्य आदेश र निर्देशनहरूको पालना नभए कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने हुनाले यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन स्थानीय प्रशासन तथा पालिकाहरूलाई आग्रह गरेको छ ।