हेटौंडा – विपक्षी दलले बागमती प्रदेशसभाको आजको बैठकअवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले प्राकृतिक विपद् व्यवस्थापनलाई पूर्णरुपमा बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दल कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाका सांसदहरुले बजेटको विषयमा फरक मत राख्दै बैठकमा उठेर विरोध जनाउनुभएको थियो । विपक्षी दलहरुले सरकारले बजेटमा विपद् व्यवस्थापनलाई बेवास्ता गरेको, आफै आमसञ्चार गृह सञ्चालन गर्न लागेको, विद्युतीय बस सञ्चालनका लागि बजेट विनियोजन गरेको र गुटको आधारमा बजेट विनियोजन गरिएको भन्दै सदनमा विरोध जनाउनुभएको थियो ।
‘प्राकृतिक विपद् र कोभिडको समयमा सरकार जिम्मेवार भएन । स्थानीय तहलाई पठाउने बजेटमासमेत पार्टीगत आधारमा पठाइयो । जसको कारणले गर्दा हामी सदनमा अवरोध सिर्जना गर्न बाध्य भयौं’, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भन्नुभयो । उहाँले विपक्षी दलहरुको माग सम्बोधन नभएसम्म सदन सञ्चालन गर्न नदिइने बताउनुभएको छ । सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक असार २० गते आइतबार बिहान ११ बजेका लागि आव्हान गर्नुभएको छ ।