मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सकारात्मक दिशा तर्फ डाेर्याउन जरुरी रहेको बताउनुभएको छ । फ्यूचर नेपालको आयोजनामा हेटौंडा–९ मा आजबाट सुरु भएको चार दिने तालिमको उद्घाटन गर्नुहुँदै उहाँले समाजमा बढ्दो बिकृति र विसंगतीलाई हटाउन सकारात्मक सोँचको विकास गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले सकारात्मक सोँचको विकास गर्न सबै क्षेत्र र बर्गकाे महत्वपूर्ण भुमिका हुने समेत बताउनुभयाे ।

बागमती प्रदेश युवा परिषद्सँगको सहकार्यमा आयोजित मानव बेचविखन, लैगिंक हिंसा बिरुद्ध, लागु औषध, साईबर क्राईम र तनाब व्यवस्थापन सम्बन्धी चार दिने तालिम आयोजना गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै उहाँले सामाजिक सञ्जालको पछि नलागि समाजमा केहि भएन हैन केहि भएको छ भन्ने सन्देश दिन जरुरी रहेको समेत औल्याउनुभयो । समुदायमा सचेतनासंगै सीप विकास र रोजगारी सृजना गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले सपि सिकेर सक्षम बन्नुपर्ने र समुन्नत समाज निर्माणमा लाग्नु पर्ने समेत बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका निर्वतमान प्रमुख रघुनाथ खुलालले भौतिक निर्माणलाई मात्र विकास मान्न नसकिने भन्दै समुन्नत र समग्र विकासका लागि सामाजिक विकास हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सकारात्मक सोँचमा परिर्वतन ल्याउन सक्नु नै वास्तविक विकासको मानक भएको भन्दै सकारात्मक समाज निर्माणमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाको सर्वागीण विकास गर्नकै लागि प्रदेश युवा परिषद स्थापना भएको भन्दै युवालाई सक्षम र आत्मनिर्भर मात्र नभई सचेत र सबल बनाउने तर्फ पनि युवा परिषदले काम गरिरहेको बताउनुभयो । उहाँले देशमा ४३ प्रतिशत युवा रहेको भन्दै ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष जनशक्ति रहेको बताउनुभयो । उहाँले युवामा ईच्छा शक्तिको कमी रहेको भन्दै युवा परिषदले त्यलाई समेत चिर्ने गरि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले पछिल्लो समय जिल्लामा लागुऔषध, साईबर क्राईमका घटनाहरु बढ्दै गएको भन्दै यस विषयमा अभिभावक पनि सचेत हुन जरुरी रहेको औल्याउनु भएको छ । उहाँले बढ्दो साईबर क्राईम र लागुऔषध बिरुद्ध युवा र अभिभावक दुवैलाई सजक हुन आग्रहसमेत गर्नुभयो ।

मानव बेचविखन, लैगिंक हिंसा, लागु औषध, साईबर क्राईमका विषयमा जानकारी दिने एवम् सचेतना फैलाउने साथै बढ्दो तनावलाई कसरी गर्ने भन्ने बारेमा तामिम आयोजना गरिएको प्युचर नेपालको कार्यकारी निर्देशक रमिला सापकोटाले बताउनुभयो । ९ गतेसम्म सञ्चालन हुने तालिममा वडाका १८ वर्षदेखि ४० वर्ष उमेर समूहका १०५ जना युवाहरुको सहभागिता रहेको छ ।

तालिममा मानव बेचविखन विरुद्धका विषयमा गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, लैगिक हिंसाका विषयमा फ्य्रुचर नेपालका अध्यक्ष नवराज थापा, लागुऔष, साइवर क्राइम र साइवर सुरक्षाका विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र तनाव व्यवस्थापन सम्बन्धी ब्रम्हकुमारी राजयोगका विजयराज सिग्देलले प्रशिक्षण दिनुहुने आयोजकले बताएको छ । उद्घाटन कार्यक्रममा पत्रकार महासंघका मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको उपस्थिती थियो ।
