हेटौँडा – वाग्मती प्रदेशको मकवानपुरमा रहेकाे कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित उत्पादन गर्दै आएको कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवले बताउनुभयो ।
उहाँले अहिले कुलेखानीको इन्द्रसरोवर जलासयमा पर्याप्त मात्रामा पानी जम्मा भएकाले विद्युत् उत्पादनमा कटौती गर्न नपर्ने जानकारी दिनुभएको छ । इन्द्रसरोवर जलासयमा अहिले १५१२।७८ मिटर पानी सतह रहेको कुलेखानी प्रथम आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख यादवले बताउनुभयो । कुलेखानी तेस्रो आयोजनामा केही महिनाअघिबाट मात्रै १४ मेगावाट विद्युत् उत्पादन गरिएको पनि सो आयोजनाले जनाएको छ । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र काठमाडौँको फर्पिङको चन्द्रज्योति र सुन्दरीजलमा विद्युत् उत्पादनका लागि नयाँ योजना कार्यान्वयन गर्ने बताउनुभयो ।