मकवानपुर– मकवानपुरमा नेपाल सरकारको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षाको प्रवन्धसहित भौतिक दुरी कायम राखेर विकास निर्माण, कृषि उपज एवम् उद्योगहरु सञ्चालन हुने भएका छन् । बुधबार बसेको स्थानीय तह समन्वय बैठकले लकडाउनका कारण रोकिएका विकास निर्माणका कामहरु गर्ने र कृषि उपजहरुको खरिद विक्रीको व्यवस्थापन गर्नेे तथा उद्योगहरु संचालन गर्ने निर्णय गरेको हो ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कमान्ड पोष्टसहित बसेको स्थानीय तह समन्वय बैठकले लकडाउनको अवधिमा जिल्ला भित्रका स्थानीयतहमा रहेका उद्योग, कृषि उपज, निजी आवास सहित विकास निर्माणका कार्य सञ्चालन गर्ने गराउने सम्बन्धी मार्गदर्शन तयार पारेर कार्यान्वयन गर्ने निर्णय गरेको छ । जिल्ला भित्रका उद्योग, कृषि उपज, विकाश निर्माण तथा दैनिक जीवनका अत्यावश्यक वस्तु तथा सेवाहरुलाई आपुर्ति गर्ने सम्बन्धमा मार्गदर्शन बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जिसस मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो । कार्ययोजनामा योजनाहरुको आवश्यक लगत वनाउने, स्थानीयतहहरुले मार्गदर्शन वमोजीम कार्यविधि वनाई कार्यान्वयन गर्ने र अति आवश्यक कार्य मात्र गर्ने कुरा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।
लकडाउनबाट लामो समयसम्म कृषि उपजका सामग्रीले बजार नपाउँदा, विकास निर्माणका कार्यहरु रोकिरहेको र उद्योग प्रतिष्ठानहरु सञ्चालन नहुदाँ आर्थिक गतिविधि लगभग ठप्प हुने अवस्था आएकाले कमान्ड पोष्ट र स्थानीय तह समन्व्य समितीको निर्णय अनुसार कार्यविधी नै वनाएर गतिविधीलाई अगाडी वढाउन खोजिएको प्रमुख खुलालले वताउनुभयो । तोकिएको समयमा र स्थानमा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर तरकारी विक्री वितरण गर्ने जनाएको छ । जिल्लामा दर्ता भै सञ्चालनमा रहेका वीउ विजनका पसलहरु निश्चित समयमा खोलि विक्रि वितरणको व्यवस्था मिलाउने यदि जिल्लाभित्र वीउ वीजन प्राप्त हुने अवस्था नरहेमा उद्योग वाणिज्य संघमार्फत समन्वय गरी छिमेकी जिल्लाबाट वीउवीजन प्राप्त हुने व्यवस्था मिलाउने पारित कार्यविधीमा तोकिएको छ ।
स्थानीय तह समन्वय समितीको वुधवार वसेको वैठकले अनुमोदन गरेको कार्यविधीमा हेटौडा औद्योगिक क्षेत्र भित्र र वाहिर सञ्चालित उद्योग प्रतिष्ठानहरुले उद्योग सञ्चालन गर्न कामदारलाई सकेसम्म आवासीय रुपमा बस्ने व्यवस्था मिलाउनु पर्ने छ । यदि आवासीय रुपमा राख्न मिल्ने अवस्था नरहेमा सकेसम्म थोरै मजदुर र कर्मचारीबाट (२५ भन्दा कम) मात्र काम गर्ने व्यवस्था मिलाउने र उद्योगलाई कम्तिमा एक भन्दा बढी सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख गरेको छ । उद्योग सञ्चालनमा संक्रमित जिल्लाबाट मजदुर वा कामदार ल्याउनुपर्ने भएमा अनिवार्य पिसिआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ ।
त्यस्तै स्थानीय तहदेखि केन्द्रस्तरवाट सञ्चालन भएका (सडक, पुल, पुलेसा, खानेपानी, विद्यालय पुननिर्माण, स्वास्थ्य भवन निर्माण) विकास निर्माणको हकमा निर्माण स्थल वरिपरि (निर्माण स्थल रहेको वडा) का कामदारहरु उपलव्ध भएको वा निर्माणस्थलको क्याम्पमा मौजुदा कामदारहरुको व्यवस्थापन सम्बन्धित कामको जिम्मा लिएका उपभोक्ता समिति वा निर्माण व्यवसायीले गराउनुपर्ने छ । सम्बन्धीत वडाका कामदारहरु उपलव्ध हुन नसकेमा अन्य छिमेकी वडा वा नजिकको स्थानीय तहका कामदारहरुलाई काममा लगाउन सकिने व्यवस्था निर्देशिकामा गरेको छ । निर्माण व्यवसायी वा उपभोक्ता समितिले कामदारहरुको आवश्यक स्वास्थ्य सुरक्षाको निम्ति निर्माण कार्य स्थलमा हात धुने सावुन, पानी, स्यानिटाईजर र मास्कतथा सेफ्टिको सामाग्रीहरुको अनिवार्य व्यवस्था मिलाउनु पर्ने उल्लेख गरिउको छ । साथै सामाजिक दुरी कायम हुनेगरि कामदारहरु परिचालन गर्नु पर्ने समेत उल्लेख गरएिको छ ।
मकवानपुरमा स्थानीय तहको सिफारीसमा तत्काल घर निर्माण गर्नु पर्नेहरुकालाई निर्माण सामग्री खरिद गर्न दिईने निर्णय भने यस अघि नै कमाण्ड पोष्टले गरिसकेको छ । जिल्लामा विपद अर्थात हालैको हावाहुरीबाट प्रभावित व्यक्ति÷परिवारलाई तत्काल घर निर्माण गर्नका लागि आवश्यक पर्ने जस्तापाता तथा निर्माण सामग्री खरिद गर्न दिने निर्णय गरेको छ । तर, त्यस्ता निर्माण सामग्री उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहबको सिफारीसमा मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरसंग समन्वय गरेर सम्बन्धित पसलहरुबाट बेचबिखनको व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकि उपप्रमुख भगवती पुडासैनीलगायत स्थानीय तहका प्रमुख उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्टिय अनुसंधान, उध्याेग संघ मकवानपुर, उध्याेग वाणिज्य संघलगायतका प्रमुख एवम् प्रतिनिधिकाे सहभागिता थियाे ।