काठमाण्डौ – चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयको चीनले विरोध गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएपछि चीनले यसको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले अरूलाई दोषी देखाउन खोजेको भन्दै भर्त्सना गरेको बीबीसीले जनाएको छ ।
चीनले कोभिड-१९ र वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि बताएको छ । कोभिड-१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान सहरमा देखा परेको थियो । त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले यो भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसै वर्षको स्थलगत अध्ययनपछि यस भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो । तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणमा यो भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् । अमेरिकाले विश्वमा कोरोना फैलनु अगाडि चीनकै प्रयोगशालाका तीन जना शोधकर्तामा सङ्क्रमण पुष्टि भएको बताउँदै आएको छ ।