मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाले खोप कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण दुई महिनादेखि रोकिएको खोप कार्यक्रम बिहीबारबाट सुरु गरेकाे हाे ।
खोप कार्यक्रमसँगै गाउँपालिकाले साधारण उपचार सेवा, गर्भवती जाँच र परिवार नियोजन सम्बन्धी सेवा पनि घरदैलोमै पुगेर दिन सुरु गरेको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीले बिहीबार मनहरी गाउँपालिका–६ फरिबाङमा नियमित खोप कार्यक्रमसँगै साधारण स्वास्थ्य उचपार, गर्भवती जाँच र परिवार नियोजन सेवा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
त्यस्तै मनहरी गाउँपालिका–१, मकरीमा भने खोप सेवा मात्रै सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । बिहीबार ३१ जनाले खोप सेवा प्राप्त गरेका छन् भने ९४ जनाले साधारण उपचार सेवा लिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै परिवार नियोजन सेवाअन्तर्गत अस्थायी साधन पिल्स ३ जनाले र डिपो १८ जनाले लिएको तथा दुईजना गर्भवतीको जाँच समेत गरिएको बताईएको छ ।
मनहरी गाउँपालिकाले स्वास्थ्य सेवा सुचारु गर्न गाउँपालिकाका २० जना स्वास्थ्यकर्मीलाई गाउँपालिकाकै एक विद्यालयमा क्वारेन्टाइन बनाएर राखेको छ । मनहरी गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य चौकीसहित ९ वटै वडामा स्वास्थ्य इकाई स्थापना गरिएको छ । मनहरी गाउँपालिकामा दुईजना मेडिकल अधिकृतसहित ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोभिड–१९ को संक्रमणको जोखिमका बेला खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले २५ देखि ५० प्रतिशतसम्म भत्ता दिने निर्णय समेत गरेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।