मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा सञ्चालित खाद्य आदान प्रदान कार्यक्रममा सहयोग गर्न सबैलाई आव्हान गरिएको छ । फाउण्डेसका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अभियानमा सहभागि हुन र सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
साझासन्देश डटकमसंग कुराकानी गर्दै अध्यक्ष खुलालले कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा दैनिक गुजारा गर्न अप्ठ्यारो भएका नागरिकका लागि नागरिकका तर्फबाट सञ्चालित अभियानमा सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको हो । उहाँले लगडाउनले बेरोजगारी भएका, असंगठित मजदुर, श्रमिक, असहाय ज्येष्ठ नागरिक, आमाबुबा गुमाएका सहाराबिहीन बालबालिका, अपाङ्ग, दृष्टिविहीन नागरिकको सारथी बन्न सम्पुर्णमा आग्रह गर्नुभएको छ । अध्यक्ष खुलालले “हुनेले दिने र नहुनेले लिएर जान पाउने” उक्त अभियानबाट लाभान्वित हुन समेत आग्रह गर्दै आफ्ना वरपर कोहि तेस्ता व्यक्ति भए अभियानमा सहभागि गराउन समेत आग्रह गर्नुभएको छ । सोमबारबाट सुरु गरिएको अभियानमा अहिले सम्म पहिलो दिन २५ जना र दोस्रो दिन ५३ जनाले सहयोग प्राप्त गर्नुभएको तथा विभिन्न व्यक्ति एवम् संघ संस्थाले सहयोग प्रदान गर्नुभएको उहाँले बताउनुभयो ।