मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मजदुर (श्रमिक) को हकहित र पेशागत सुराक्षाका लागि बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले “कोही भोकै नपर्ने र कोही भोकै नमर्ने” अवस्था निर्माणमा सरकार दृढ़ रहेको उल्लेख गर्नुभएको छ ।
सारा चिजबिजको उत्पादन र निर्माणका मूलस्रोत मजदुरहरुलाई संसारले सम्झने दिन मइ दिवस अर्थात अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी मजदुरहरुलाई शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले भन्नुभएको छ । “बागमती प्रदेश सरकार मजदुरहरुको हकहित र पेशागत सुराक्षाका लागि प्रतिवद्ध छ । हाल देशमा कोरोना भाइरस विरुद्ध लकडाउन गरिएको छ, यस्तो अवस्थामा मुलतः मजदुर त्यसमा पनि दैनिक ज्यालादारीका मजदुरहरुलाई समस्या परेको यथार्थबाट सरकार अनविज्ञ छैन । त्यस्ता समस्यामा परेका मजदुरहरुलाई राहत उपलब्ध गराउन स्थानीय तहमार्फत काम भइरहेको छ । कोही भोकै नपर्ने र कोही भोकै नमर्ने अवस्था निर्माणमा सरकार दृढ़ छ ।”
उहाँले सामाजिक एवं भौतिक दुरी कायम गरी उद्योग तथा कलकारखानाहरु सञ्चालन गर्ने तयारी थालिसकिएको भन्दै दैनिक ज्यालादारी गर्ने मजदुरहरुले समेत काम विहिन भएर बस्नुपर्ने अवस्था चाडै अन्त्य हुने समेत उल्लेख गर्नुभएको छ । नेपाली मजदुरहरुले आफ्नो हकहित प्राप्तिसंगै मुलुकमा राजनीतिक परिवर्तनका लागि समेत ठूलो योगदान पुर्याएको भन्दै आधुनिक समाजमा हरेक नागरिकका हरेक क्रियाकलापहरु एउटा मजदुरको श्रमका कारण प्रभावित हुने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले कृषि मजदुरका कारण गास, निर्माण मजदुरका कारण बास, गार्मेन्ट मजदुरका कारण कपासको व्यवस्था हुनुका साथै हाम्रा दैनिकीमा मजदुरहरुका प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरु हुन्छन् । समाज र राष्ट्रका लागि ठूलो योगदान दिने मजदुरहरुको भविष्य सुरक्षीत हुनुपर्छ ! जीवनभर उत्पादन र निर्माणमा पसिना बगाएका मजदुरहरुको जीवनको उत्तरार्धको समय सुरक्षीत गर्ने दायित्व राज्यको हो भन्ने कुरा वर्तमान सरकारले महसुस गरेर नै सामाजिक सुराक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको समेत शुभकामना संदेशमा उल्लेख गर्नुभएको छ ।