मकवानपुर– बागमती प्रदेश सरकारले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न प्रदेशका विध्यालयहरूलाइ निर्देशन दिएकाे छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार प्रदेशका सबै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको हाे ।

बिहीबार मन्त्रालयले प्रदेशका सबै स्थानीय तह र विद्यालयहरुलाई परिपत्र गर्दै तत्काल नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । नतिजा प्रकाशनपछि बन्दाबन्दीको समयमा सामाजिक दुरी कायम गरी भर्नाको व्यवस्था गर्न तथा उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न पनि विद्यालयलाई आग्रह गरेको छ । नतिजा प्रकाशनपश्चात विद्यालयले विद्यार्थीलाई पनि यथासम्भव पाठ्यपुस्तक वितरण गर्न र पाठ्यपुस्तक उपलब्ध गराउन मन्त्रालयले सहयोग गर्ने उल्लेख गरिएको छ । बन्दाबन्दीको समयमा विद्यार्थीलाई सूचनाप्रविधिका माध्यमबाट घरमै पढ्ने व्यवस्था मिलाउन पनि सूचनामा भनिएको छ ।
प्रदेश सरकारले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न भने पनि कतिपय विद्यालयमा वार्षिक परीक्षा पूरा हुन सकेको छैन । यस्तो अवस्थामा यसअघि प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गरी नतिजा प्रकाशन गर्न सकिने सामाजिक विकास मन्त्रालयका प्रवक्ता समेत रहनुभएका शिक्षा महाशाखाका प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।