मकवानपुर, फाल्गुन १८ । बागमती प्रदेशमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न सवै पक्षको सकृय सहभागीतामा तयारी पुरा भएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
निर्वाचन तयारीका क्रममा हालसम्म सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन (तालिम तथा परिचालन), सुरक्षा व्यवस्थापन, बदर मत घटाउन मतदाता शिक्षा र मतगणना स्थल निर्धारणसमेतको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
ढकालका अनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३१० मतदाता मतदानका लागि योग्य रहेका छन् । प्रदेशभर ४ हजार ३४१ मतदान केन्द्रमार्फत मतदान हुने र ३३ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बागमती प्रदेशमा ३३ सिटका लागि ७३१ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेको उहँँले बताउनुभयो ।
कुल ६१ लाख ९६ हजार ६६६ जनसंख्या रहेको प्रदेशमा मतदाताको हिस्सा झण्डै ६० प्रतिशत हाराहारी छ । ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा क्षेत्र रहेको बागमतीमा ११९ स्थानीय तह र १ हजार १ सय २१ वडा छन् । औसतमा एक प्रतिनिधिसभा क्षेत्रमा करिब १ लाख ११ हजारभन्दा बढी मतदाता रहेका छन् । भने, एक मतदान केन्द्रमा करिब ८४० मतदाता पर्ने देखिन्छ ।
महिला सहभागिता कमजोर
बागमती प्रदेशमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा महिला सहभागिता कमजोर देखिएको छ । कुल ७३१ उम्मेदवारमध्ये ६२३ पुरुष र १०८ महिला सहभागिता रहेको पाईएको छ । समग्रमा महिला उम्मेदवारीको हिस्सा करिब १५ प्रतिशत मात्र रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
जिल्लागत रूपमा आसन्न निर्वाचनमा काठमाडौंमा सबैभन्दा बढी २५० जना र रसुवामा सबैभन्दा कम १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यस मध्ये काठमान्डौंमा पुरुष २०४ र महिला ४६ जना, ललितपुरमा पुरुष ६२ र महिला ९ गरि ७१ जना, चितवनमा पुरुष ४६ र महिला १८ गरि ६४ जना, भक्तपुरमा पुरुष २८ र महिला ९ गरि ५७, धादिङमा पुरुष ४३ र महिला ४ गरि ४७ जना, मकवानपुरमा पुरुष ३७ र महिला ७ गरि ४४ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
त्यस्तै बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लमा पुरुष ३९ र महिला ३ गरि ४२ जना, दोलखामा पुरुष २९ र महिला ४ गरि ३३ जना, नुवाकोटमा पुरुष २९ र महिला १ गरि ३० जना, रामेछापमा पुरुष १६ र महिला १ गरि १७ जना, सिन्धुपाल्चोकमा पुरुष ३३ र महिला ३ गरि ३६ जना, सिन्धुलीमा पुरुष २६ र महिला २ गरि २८ जना र रसुवामा पुरुष ११ र महिला १ गरि सबैभन्दा कम १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।









