बाराको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यावसायी रङ्गेहात अम्लेखगञ्जमा घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । मालपोत कार्यालय सिमराका निमित्त प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्री बडाल ६ लाख घुससहित रंगेहात पक्राउ परेका हुन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक जग्गा खरिद विक्रीका क्रममा सेवाग्राहीसँग घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका निमित्त प्रमुख खनाल र लेखापढी व्यावसायी बडाललाई हिजो राती नै काठमाडौँस्थित केन्द्रीय कार्यालयमा लगिएको अख्तियारले जनाएको छ ।