मकवानपुर – मकवानपुरका ६ जना युवाहरूले गाउँमै घरेलु उद्योग सञ्चालनका लागि लिएको साढे ५ लाख बढी अनुदान गाउँपालिका कार्यालयमै फिर्ता गरेका छन् । साबुन उद्योग सञ्चालनका लागि गाउँपालिकासँग लिइएकाे ५ लाख ६४ हजार ४५० रुपैयाँ अनुदान रकम सदुपयोग गर्न नसकेको महसुस गर्दै स्थानीय युवाहरुले रकम गाउँपालिकालाइ नै फिर्ता गरेका हुन् ।
नेपालमा अनुदान लिएर रकम दुरुपयोग गरेका थुप्रै उदाहरण छन् । तर अनुदान रकम सदुपयोग गर्न नसकिएको महशुश गरी रकम गाउँपालिकालाई नै फिर्ता गरेर युवाहरुले उदाहरणिय काम गरेका छन् । सर्वसाधारणले तिरेको करबाट लिएको अनुदान सदुपयोग गर्न नसेकोको भन्दै उनीहरुले रकम फिर्ता गरेको बताएका छन् ।
आथिक वर्ष २०७६÷०७७ मा स्थानीय ६ जना युवा मिलेर गाउँपालिकाको अनुदानमा बागमती साबुन उद्योग सञ्चालन गरेका थिए । कोभिड १९ का कारण व्यवसाय फस्टाउन नसकेको, जडान गरेका उपकरण बिग्रीएको कारण उद्योग सञ्चालन गर्न समस्या देखिएपछि सञ्चालक समितीको बैठक बसेर अनुदान रकम फिर्ता गर्ने निर्णय गरेको सञ्चालक मध्येका एक गोबिन्दराज दुलालले बताउनुभयो । अनुदान रकम गाउँपालिकाको राजस्व खातामा नगद दाखिला गरी भौचर गाउँपालिकालाई बुझाएको उहाँले बताउनुभयो । स्थानीय युवाहरु गोबिन्दराज दुलाल, सन्तोष घिमीरे होमनाथ दाहाल, यम प्रसाद आचार्य, सुरेन्द्र तिमल्सिना र शुशील तिमल्सनाले अनुदान रकम फिर्ता गरेका हुन् ।