मकवानपुर – मौरी पालक किसान संघ नेपालको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । किशान महासंघका स्थाई कमिटी सदस्य एवम् संघका केन्द्रिय अध्यक्ष सम्राट तुम्बाहाम्फेको सभाध्यक्षता भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सहईन्चार्ज तथा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री पौडेलले मौरी पालनलाई व्यवसायिकरण गर्न पर्ने बताउनुभयो । पछिल्लो समय समेत महको माग बढेकाले मौरीपालन व्यवसायलाई व्यवसायिकरण गर्न उहाँले कृषकहरुलाई आग्रह गर्नुभयो । उत्पादन र बजारीकरणलाई संगसंगै लैजानुपर्ने भन्नुहुँदै माग अनुसारको उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । कृषिलाई व्यवसायिकरणसंगै बजारिकरण गर्नुपर्ने भन्दै उहाँले उत्पादनमा लागेर रोजगारीमा जोडिन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले निर्वाहमुखी नभई व्यवसायिक खेति गर्न आग्रह गर्नुभयो । उहाँले तीन तहका सरकारले कृषकका लागि विभिन्न योजनाहरु ल्याएको भन्दै उक्त योजनाहरु वास्तविक कृषकसमम पु¥याउन किसानहरु संगठित हुन जरुरी रहेको बताउनुभयो ।

बैठकमा संघका अध्यक्ष तुम्बाहाम्फेले आगामी कार्य योजना प्रस्तुत गर्नुका साथै हालसम्म भएका कृयाकलापका बारेमा जानकारी दिनुभएको थियो । बैठकमा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, अखिल नेपाल किसान महासंघका राष्ट्रिय सचिवालय सदस्य सरिता भुसाल, राष्ट्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज शुदर्सन अर्याल, अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगाललगायत संघका सदस्यहरु तथा विभिन्न जिल्लाका मौरीपालक कृषकहरुको सहभागिता थियो ।