मकवानपुर– मकवानपुरमा चैत्र १ गते यता विदेशबाट फर्किएकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणलाई तिब्रता दिईएको छ । स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका १० मध्ये ८ वटा पलिकामा २८२ जनाको परिक्षण सम्पन्न गरेको हो । अहिले (बेलुकी ६ः०० बजे) पनि बागमती प्रदेश प्रहरी कार्यालयका क्वारेन्टाईनमा रहेका १५ जना प्रहरीको परिक्षण चलिरहेको र उनिहरुको रिजल्ट भने भोलीमात्र थाहा हुने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।
हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ (कोरोना नभएको) आएको उहाँले जानकारी दिनुभएको छ । जिल्लामा हालसम्म विभिन्न स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ५१८ जना मध्ये २८२ जनाको आरडीटी परिक्षण सम्पन्न भएको र सबैको नतिजा नेगेटिभ आएको उपाध्यायले बताउनुभयो । आईतबार हेटौंडा उपमहानगरपालिकामा ४० जनामा आरडिटि परिक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको उहाँले बताउनुभयो । उपमहानगरपालिकामा हालसम्म २८२ जनाको परिक्षण सम्पन्न भएको समेत प्रमुख उपाध्यायले जानकारी दिनुभएको छ । उपमहानगरपालिकामा बैशाख ४ गते आरडिटि परिक्षण गरिएका मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएपनि पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
त्यस्तै हालसम्म जिल्लाको थाहा नगरपालिकामा ३० जना , कैलाश गाउँपालिकामा २३ जना, ईन्द्रसरोवरमा १५ जना, भीमफेदीमा २० जना, मनहरीमा १९ जना, बकैयामा १९ जना र बागमती गाउँपालिकामा २० जनाको परिक्षण सम्पन्न भएको र सबैको नतिजा नेगेटिभ आएको उहाँले बताउनुभयो । जिल्लाका १० पालिका मध्ये मकवानपुरगढी र राक्सिराङ गाउँपालिकामा परिक्षण गर्न बाँकी रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै जिल्लामा ४८६ जना स्थानीय तहको निगरानीमा होम क्वारेन्टाईनमा रहेको र ८ जना आईसोलेशनमा रहेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । साथै जिल्लामा रहेका ३२ वटा एम्बुलेन्स मध्ये १० वटा लाई पार्टेसन गरेर तयारी अवस्थामा राखिएको समेत उहाँले जानकारी दिनुभएको छ ।