हेटौंडाः मकवानपुर जिल्लाको चौथो जिल्ला सभा आगामी साउन २६ गते आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला समन्वय समितिको ४७ औं बोर्ड बैठकले आगामी जिल्लासभाको मिति तय गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला समीक्षा बैठक भने अगामी भदौ महिनामा आयोजना गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिको घोषित वार्षिक कार्यक्रम अन्तर्गत नै जिल्ला सभा र समीक्षा बैठकको आयोजना गर्न लागिएको प्रमुख खुलालले जानकारी दिनुभयो । जिल्ला सभाबाट अनुगमन कार्यविधि, आचारसंहिता, लगायत पारित गरिने प्रमुख खुलालले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको चालु आर्थिक वर्षको बजेट पास गरिने प्रमुख खुलालले जानकारी दिनुभयो । संघीय सरकारबाट आर्थिक वर्ष २०७६÷७७ का लागि निःशर्त बजेट १ करोड २३ लाख ४६ हजार रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै भदौमा आयोजना हुने समीक्षा बैठकमा पालिकाहरूले आफ्नो क्षेत्रफल, जनसाङ्ख्यिक विवरण, शैक्षिक अवस्था, स्वास्थ्य, सडक खानेपानी, विद्युतको उपलब्धता, पर्यटकीय क्षेत्र आदिको बारेमा प्रस्तुुत गर्ने छन् । पालिकाहरूमा हालसम्म बसेका बैठक तथा निर्माण भएका कानून, नीतिहरू तथा कार्यविधिहरूको बारेमा जानकारी, गठन गरिएका समितिहरू तथा ति समितिहरूको क्रियाशिलता, पालिका पदाधिकारीहरूका लागि दिइएको तालिम तथा गोष्ठीहरू, सहभागी सङ्ख्या अवधि र विषयका बारेमा कार्यपत्र प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।
आइतबार बसेको बैठकले जिल्लासभा आयोजना गर्नका लागि उपप्रमुख भगवती पुडासैनीको संयोजकत्वमा व्यवस्थापन तथा व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै बैठकले विभिन्न स्थानीय तहहरूमा पठाइएको सवारी साधनहरू आवश्यकता अनुसार फिर्ता लिने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा समन्वय समितिका सदस्यहरू, समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायलगायतको सहभागिता रहेको थियो ।