हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होछार पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन । मञ्जुश्री संवत् २८६१ डुल लो-सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आइतबार एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
अध्यक्ष मल्लद्वारा जारी शुभकामना सन्देशमा माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्नुभएको छ । साथै सन्देशमा तीन दिन गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ । उहाँले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशियालीपूवर्क मनाउन तीन दिन बिदा दिएको बताउनु भयो ।
उहाँले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ् बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।
