काठमाडौँ महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रूपमा बेचिने खानेकुराहरू बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरले जनाएको छ ।
पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको बताइएको छ । बर्खायाममा पानीसँगै फैलिने सङ्क्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने महानगरले जनाएको छ । जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्नेछ ।
महानगरका अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ । यस्तै काठमाडौँ महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गर्ने अभियानलाई निरन्तरता दिने भएको छ ।