मकवानपुर– मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोरोना संक्रमितलाइ उपचार गर्न हेटौडा–६ गौरीटारमा १२० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । रंगशाला परिसरमा रहेको छात्रावासको भवनलाई आइसोलेसन वार्डको रुपमा आजबाट सञ्चालनमा ल्याइएको हो ।
विद्यालयबाट आइसोलेसन तथा क्वारेन्टाईन हटाउने सरकारको निर्णय अनुसार हेटौंडा–४, कर्रा स्थित श्रमिक माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको ३५ बेडको आइसोलेसन वार्डलाई उक्त छात्राबासमा स्थानान्तरण गर्न लागिएको हो । यद्यपी हेटौंडा–४ स्थित आइसोलेसन वार्ड भने तत्काल बन्द नगरिने हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । आवश्यक परेका अवस्थामा विद्यालय खाली गर्न सकिने समेत उहाँले बताउनुभयो ।
आजै उक्त आइसोलेसनमा ९ जना नेपाल प्रहरी सहित अन्य ३ जना कोरोना संक्रमितलाई राखिएको हेटौंडा हस्पतालका डा. सागर काफ्लेले बताउनुभयो । भवनभित्र सरसफाई तथा मर्मत सम्भार पश्चात आज साँझबाट संक्रमितलाई राखिएको उहाँले जानकारी दिनुभयो । आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना र नेपाल प्रहरी सुरक्षाको लागि खटाइएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठान, हेटौंडा अस्पतालले संचालन गरेको उक्त आइसोलेसनमा हेटौंडा उपमहानगरपालिकाको सहकार्य रहेको छ । मकवानपुरमा पछिल्लो सातादेखि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । आज मात्रै हेटौंडाका ३ महिला, १ पुरुषमा कोरोना पुष्टि भएका छन भने विहीबार २३ महिनाको बालिका र १० जना नेपाल प्रहरी सहित ५२ जनामा कोरोना पुष्टि भएको थियो ।











