मकवानपुर । मकवानपुरको बिकट कैलाश गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । “समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने मुल नाराका साथ बुधबार एक कार्यक्रमकाबीच पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।
नेपालको संविधान–२०७२ मा आधारभूत तह सम्मको शिक्षा अनिवार्य तथा निःशुल्क हुने भनेर प्रष्ट रुपमा ब्यवस्था गरेको भएता पनि विविध कारणले यस पालिकाबाट अनिवार्य तथा निःशुल्क शिक्षाको घोषणा गर्न सकेका थिएनन् । आज बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष मोक्तानले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरमा कमाउने भन्दा पढाउने सोचको विकास गर्नुपर्ने भन्दै उहाँले आफ्नो बालबालिकालाई विदेश पठाउने सोच नराखेर पढाउनतर्फ अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमका विभिन्न चरणहरु पार गरे पश्चात आज घोषणा गरेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताउनुभयो ।