मदन भण्डारी फाउन्डेशनले यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने भएको छ । फाउन्डेशनले आज पत्रकार सम्मेलन गरी जननेता भण्डारीको जन्म जयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट यस वर्ष सोलुदूधकुण्ड नगरपालिका-४, फाप्लु, सोलुखुम्बु निवासी डा.मिङमार गेल्जेन शेर्पालाई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट हेटौँडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुर निवासी निरुकुमारी मगरलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
फाउन्डेशनले समाजमा सिर्जनात्मक काम गरी अरूलाई उत्प्रेरित गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ । फाउण्डेशनले भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा आगामी बिहीबार असार १४ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौँमा कार्यक्रम गरी उक्त पुरस्कार वितरण गर्ने जनाएको छ । पुरस्कारको राशि जनही एक लाख नगदसहित सम्मान पत्र रहेको छ ।
वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिनुभएका जननेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । मदन भण्डारीको जन्म जयन्ती असार १४ गतेको अवसरमा फाउन्डेशनले कार्यक्रम गर्दै आइरहेको छ ।