नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिनुभएको छ । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उहाँले बताउनुभयो । ‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो,’एमाले उदयपुरमा जनसभालाई शुक्रबार दिउँसो सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ ।’ उहाँले सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको बताउनुभयो ।
पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गर्नुभयो । उहाँले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो । ‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुनः जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं ।’ उहाँले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने दाबी गर्नुभयो ।
ुसमृद्ध नेपाल, सुखी नेपालीुको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ओलीले यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनुभयो । ओलीले आफू प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, विभिन्न राजमार्ग, अस्पताल, सडक, कृषि, पूर्वाधारका लागि पर्याप्त बजेट थियो र त्यहीअनुसार काम भए, तर अहिले तिनै योजना बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको बताउनुभयो । ‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो क्षमता नभएकै कारण आफ्ना पालामा भएका विकास निर्माणका काम, शिलान्यास, उद्घाटन सबै बजेट अभाव देखाउँदै रोकिनु दुखद् छ ।’
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा उद्घाटन गर्न उदयपुर पुग्नुभएको हो ।