नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा अध्यक्ष ओलीले अहिले सरकारले कुनै दल, व्यक्तिलाई लक्षित गर्न खोज्दा खास दोषी उम्कने सम्भावना रहेको जिकिर गर्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुन दलको कुन पद रिक्त बनाउने र कोविरुद्ध समाजमा नकारात्मक हल्ला फैलाउने भन्नेमा केन्द्रित रहेर सरकारले छानबिनको नाटक गरिरहेको बताउनुभयो ।
आफू प्रधानमन्त्री बन्दा नक्कली भुटानी शरणार्थीबारे एउटा समिति बनाएको तर त्यति बेला आफूलाई सरकारबाट बाहिर निकाल्ने, पार्टीको सदस्यबाट निकाल्नेजस्ता गतिविधि भएकाले आफूले त्यो मुद्दा हेर्न नपाएको उहाँको दाबी छ । अहिले सरकारले भ्रष्टाचारविरुद्ध कदम चालेको नाटकमात्रै गरिरहेको दाबी गर्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण आफैँ बाहिर आएको जिकिर गर्नुभयो । ‘यो प्रकरण बाहिर ल्याएको हाेइन आफैँ बाहिर आएको हो, लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न ।’ ओलीले भन्नुभयो । उहाँले भ्रष्टाचारका सबै कान्डहरूकाे छानबिनमा आफ्नो पार्टीले सरकारलाई पूरै सघाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।