प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मूल्य–मान्यता र चेतनाको स्तरमा आएको परिवर्तनलाई सम्बोधन गर्न कानुनहरू निरन्तर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नयाँ परिवेश अनुसार कानुनहरूको परिमार्जन गरी न्याय सम्पादनलाई सन्तुलित बनाउनुपर्ने बताउनुभयो ।
नयाँ संविधान र सङ्घीयता कार्यान्वयनका लागि निर्माण भएका नयाँ कानुनहरूले न्यायपूर्ण समाज निर्माणका लागि पर्याप्त आधार तयार पारेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले निष्पक्ष अभियोजन तथा न्याय सम्पादनका लागि सरोकारवाला सबै निकायबिच समन्वय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ज.व.राले विधिको शासन कायम गराउन न्यायपालिका सक्षम र प्रतिबद्ध रहेको बताउनुहुँदै सबै पक्षबाट आवश्यक सहयोग हुनुपर्ने बताउनुभयो ।
महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अपराध अनुसन्धान र अभियोजनको सुधारका लागि सरकारी वकिलहरूको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पौष १० गते सम्म सञ्चालन हुने सम्मेलनमा भौतिक रूपमा तथा भिडियो सञ्चार एप्लिकेसन जुम मार्फत देशभरका सरकारी वकिलहरूको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।