हेटौंडा । बागमती प्रदेशसभाको बैठक साढे चार महिनापछी आज दिउसो बस्दैछ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आज अपराह्न ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको १३ औं अधिवेशन आह्वान गर्नुभएको हाे । गत २२ असोजमा दुईवटा विधेयक पास गरेर स्थगित भएको प्रदेशसभाको बैठक १ सय ४१ दिनपश्चात् बस्न लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको खबरदारीपश्चात सरकारले हिउँदे अधिवेशन बोलाएको हो । सरकारले विभिन्न बहाना बनाएपछि विजनेस नहुँदा बैठक राख्न आनाकानी गरिरहेको थियो । सरकारको सिफारिसमा वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन १५ फागुनका लागि आह्वान गरेका थिए ।
यसअघि ८ फागुनमा बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन आह्वान गरेका थिए ।प्रदेशसभाको यस अधिवेशनको कार्यसूची टुंगो लगाउन अहिले प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बसिरहेको छ ।
बैठकले सदनको बिजनेस, संसदीय समिति गठनलगायतको विषयमा प्याकजमै टुंग्याउने जनाइएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको पहलमा सर्वदलीय बैठक बसेको हो । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।
