हेटौंडा — बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । अदालतले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको छ । शुक्रबार जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले हेटौंडा उपमहानगरपालिका—११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको हो ।
अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । लामाले २०७८ असार २ गते बालिकालाई हेटौंडा उपमहानगरपालिका—१० स्थित एक होटलमा लगेर बलात्कार गरेका थिए । चितवनबाट हेटौंडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्‍याइदिने भनेर झुक्याएर होटलमा लगेर बलत्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अभियुक्त लामालाई क्षेत्रीय कारागार भीमफेदीमा राखिएको छ । इकान्तिपुरबाट ।