मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९, स्थित बेतखोल्सी सामुदायिक वन उपभोक्ता समुहको २० औं साधारणसभा शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष बासुदेव प्याकुरेलको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले वन क्षेत्रको प्रयोगसंगै संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको प्रयोग र संरक्षणमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । उहाँले सामुदायिक वनहरु रोजगारमुलक र व्यवसायिक तरिकाले अगाडि बढ्न आवश्यक रहेको समेत बताउनुभयो । सामुदायिक वनका उपभोक्ताहरुको आर्थिक पाटो सफल बनाउने खाले कार्यक्रम छनोट गर्न र कार्यान्यन गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले सामुदायिक वन र उपभोक्ता दुवैलाई फाइदा हुने हिसाबले काम गर्नुपर्ने बताउनुभयो । साधारणसभामा संस्थाका अध्यक्ष प्याकुरेलले संस्थागत प्रतिवेदन तथा कोषध्यक्ष अच्युतमप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।