मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष राप्रपाले अबरुद्ध गरेपछि स्थगित भएको बैठक पुन सञ्चालन हुन नसकेपछि भोली बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट माथी छलफलका लागि दिउँसो १ बजेका लागि बोलाईएको बैठक साँझ पौने ६ बजेसम्मका लागि स्थगित भएको थियो । बैठक प्रारम्भ हुनसाथ एमाले र राप्रपाले सरकारले जनता बिरोधी बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए । बैठक अबरुद्ध भएपछि सभामुख भुवन कुमार पाठकले बैठक साँझ पौने ६ बजेसम्मका लागि स्थगित गर्नुभयो । तर, सत्तारुढ दल तथा प्रतिपक्ष दलको छलफलपछि पनि बैठक कुनै निष्कर्षमा नपुगेपछि बैठक भोली बिहान ११ बजे सम्मका लागि स्थगित भएको हो ।
बैठकमा भोली पनि विपक्षी दलले बिरोध गर्ने जनाएको छ । विपक्षी दलले मुख्यमन्त्री र केहि मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै यो संघियता विरोधी बजेटलाई कुनै पनि हालतमा पास हुन नदिने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेटमा सरकारले जनता विरोधी काम गरेको बताउनुभयो ।
सरकारले सडक निर्माण र डिप बोरिङको लागि भन्दै ५ लाखको बजेट विनियोजन गर्नु निकै लज्जास्पद विषय भएको भन्दै उहाँले यस्ताखालको विषय प्रदेश सरकारको लाजको विषय भएको बताउनुभयो । प्रदेश सरकारको राजधानीलाई बजेटले उपेक्षा गरिएको भन्दै उहाँले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेल भएको, अस्पतालको १००औँ कर्मचारी निकाल्ने प्रयास गर्दै जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको बताउनुभयो । वडै नभएको ठाउँमा बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको भन्दै यस्ताखाले गैरजिम्मेवारी बजेट पास गर्नु जनतालाई धोखा दिनु रहेको उहँँले बताउनुभयो ।