कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भिर भएका बिरामीका लागि जीवन दिने एउटा सस्तो र सर्वब्यापी रुपमा उपलब्ध हुने औषधी उपयोगि हुने प्रमाणित भएको छ । बेलायती विज्ञहरुका अनुसार ‘डेक्जामिथेसोन’ स्टेरोइडको थोरै खुराक कोरोनाभाइरस बिरामीको उपचारमा महत्वपूर्ण सफलता लिएर आएको छ ।
कोरोनाभाइरसको उपचारमा उपयोगि हुन सक्ने सम्भावनाका बीच डेक्जामिथेसोन विश्वकै सबैभन्दा ठूलो ट्रायल परीक्षणको क्रममा रहेको छ । डेक्जामिथेसोनको प्रयोगले कोरोना सङ्क्रमणले भेन्टिलेटरमा रहेका बिरामीमा एक तिहाइले मृत्युको जोखिम टार्नेछ । अक्सिजन लिने बिरामीमा मृत्युको जोखिम करीब २० प्रतिशतले घटाउनेछ ।
विज्ञहरुका अनुसार डेक्जामिथेसोनको कोरोना सङ्क्रमितमा प्रयोग गरिएको भए बेलायतमा पाँच हजार जत्तिकै जिवन बचाउन सकिन्थ्यो । विपन्न राष्ट्रहरुमा यसको प्रयोगले कोभिड–१९ का बिरामीमा अत्यन्तै फाइदाजनक हुने बताइएको छ ।
डेक्जामिथेसोनको प्रयोगले प्रत्येक २० जना बिरामीमध्ये १९ जनालाई अस्पताल नै नपुर्याइ निको भएका छन् । अस्पतालमा भर्ना भएपनि अधिकांश निको भए । तर केहीमा भने अक्सिजन वा मेकानिकल भेन्टिलेटशनको आवश्यकता पर्यो । उच्च जोखिममा रहेका बिरामीमा डेक्जामिथेसोनको प्रयोग अत्यन्तै उपयोगि सिद्ध भएको पाइयो ।
उक्त औषधी यसअघि सूजन घटाउन प्रयोग गरिदै आएको छ । कोरोनाभाइरससँगै लड्दा शरीरको प्रतिरक्षा प्रणाली अत्याधिक खर्च हुँदा डेक्जामिथेसोनले त्यसबाट हुने क्षति रोक्न सहयोग गर्छ । शरीरले अत्याधिक प्रतिक्रिया जनाउनुलाई ‘साइटोकिन स्टर्म’ भनिन्छ ।
अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको ट्रायलमा डेक्जामिथेसोन दुई हजार अस्पतालमा भर्ना भएका कोरोनाभाइरसको बिरामीमा प्रयोग गरियो । त्यसैगरी चार हजार जनालाई उक्त औषधी दिइएन । “भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युको जोखिम ४० देखि २८ प्रतिशत घटाउने देखियो, अक्सिजन आवश्यक हुने बिरामीमा २५ देखि २० प्रतिशतसम्म मृत्युको जोखिम घटाउँछ ।” – प्रमुख अनुसन्धानकत्र्ता प्राध्यापक पिटर होर्बीले बताउनुभयो ।
“डेक्जामिथेसोनले मृत्युदर घटाउने एकल औषधी हो, र यसले महत्वपूर्ण परिमाणमा मृत्युदर घटाउनेछ । कोरोना विरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।”– उहाँले थप्नुभयो । अनुसन्धानको नेतृत्व गर्नुभएका प्राध्यापक मार्टिन लैण्ड्रेले भेन्टिलेटरमा रहेका प्रत्येक आठजना बिरामीलाई बचाउन सकिने बताउनुभयो ।
“यसले अत्यन्तै स्पष्ट फाइदा पुर्याएको छ, डेक्जामिथेसोनको दश दिनसम्म प्रयोग गर्दा बिरामी निको हुन्छ । जिवन बचाउन औषधीमा लाग्ने खर्च करीब ३५ यूरो हुन आउँछ । यो औषधी विश्वभरि पाइन्छ ।”– लैण्ड्रेले खुलाउनुभयो ।
उहाँ अस्पतालले कोरोनाभाइरसका जटिल बिरामीमा डेक्जामिथेसोनको प्रयोग गर्न ढिलाइ गर्न नहुने बताउनुहुन्छ । तर व्यक्तिले आफैं खरिद गरी उक्त औषधीको प्रयोग जथाभावी गर्न नहुने उहाँ सुझाउनुहुन्छ ।
तर डेक्जामिथेसोनको प्रयोग श्वास लिन कठीनाइ नहुने बिरामीमा भने उपयोगि हुने छैन् । गत् मार्च महिनादेखि उक्त औषधीको ट्रायल हुँदै आएको थियो ।
एन्टीभाइरल औषधी रेम्डीसिभिर भने यसअघिदेखि नै छिटो निको हुन प्रयोगमा ल्याइएको छ । इबोला भाइरस विरुद्ध रेम्डीसिभिर प्रयोग गरिएको थियो । तर रेम्डीसिभिरको प्रयोगले मृत्युदर घटाउने पर्याप्त प्रमाण अझै फेला परेको छैन् । १५ दिनमा निको हुने बिरामीमा रेम्डीसिभिरको प्रयोगले ११ दिनमा निको बनाउँछ ।
कोभिड–१९ को मृत्युदर घटाउन प्रयोग हुने उक्त औषधी नयाँ भने होइन । “यो उत्सब मनाउने बेला हो, किनभने यसको ब्यापक पहुँचले विश्वभरि प्रयोगमा ल्याउन सकिनेछ ।”– होर्बीले बताउनुभयो ।
डेक्जामिथेसोन करीब सन् १९६० देखि प्रयोगमा ल्याइएको औषधी हो । आस्थमा, अर्थराइटिस र रहुमेटोइडका बिरामीमा डेक्जामिथेसोन प्रयोग हुन्छ । आईसीयूमा रहेको बिरामीको शिराभित्र उक्त औषधी दिइन्छ । तर कम जोखिममा रहेका बिरामीमा भने उक्त औषधी टेब्लेटको रुपमा दिन सकिनेछ । रेम्डीसिभिर झैं डेक्जामिथेसोनको आपूर्ति सीमित छ । र यसको मूल्य अझै घोषणा हुन बाँकी नै छ ।
(बीबीसीका लागि मिसेल रोबर्ट्सले गर्नुभएको रिर्पोटको अनुवादित अंश)