सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो ।
पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाब बढेको हो। सप्तकोसीमा नदीमा शुक्रबार राति १० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ ।
कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।
यसअघि गत साउन २९ गते यस वर्षकै उच्च ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ ।
कोशी ब्यारेजका सबै ढोका खोलेका कारण कोसी प्रभावित क्षेत्रमा कुनै खतरा नभएको र पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको बताइएको छ ।