दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । नयाँ दिल्लीमा आज मङ्गलवार भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जितेसँगै भारतले शृङ्खला नै जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको एक सय रनको झिनो लक्ष्य भारतले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायो । भारतका शुभमन गिलले सर्वाधिक ४९ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडी र बिजाेर्न फर्च्युनले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २७ ओभर १ बलमा अलआउट हुँदै ९९ रन मात्रै बनायो । उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले चार तथा वाशिङट्न सुन्दर, मोहम्मद सिराज र सहबाज अहमदले दुई/दुई विकेट लिए । यसअघि भएको तीन खेलकाे टी–ट्वेन्टी शृङ्खला पनि भारतले नै जितेको थियो ।