हेटौँडा । बागमती प्रदेश सरकार मातहतका अस्पतालको क्षमताको आधारमा १० प्रतिशतभन्दा कम विशिष्टीकृत शैया रहेको पाइएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको शैया क्षमताको आधारमा ९२ प्रतिशतभन्दा बढी सामान्य शैया रहेको पाइएको हो ।
प्रादेशिक अस्पतालले क्याबिन, आइसियु, एचडियु, एनआइसियु र सामान्य शैया गरी ८७९ वटा शैयाबाट सेवा प्रवाह गर्दै आएकामा विशिष्टीकृत शैया संख्या अर्थात् क्याबिन, आइसियु र एनआइसियु शैया संख्या ६८ मात्र रहेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश मातहतका विभिन्न अस्पतालमा गरी क्याबिन शैया १०, आइसियु ३७ र एनआसियु २१ शैया रहेका छन्् ।
आठ वटा प्रादेशिक अस्पतालमा मात्र विशिष्टीकृत शैया उपलब्ध रहेको छ भने पाँच वटा प्रादेशिक अस्पताल विशिष्टीकृत शैयाविहीन छन्् । १९ शैया रहेको रसुवा अस्पताल, २५ शैयाको वज्रवाराही चापागाउँ अस्पताल, ४५ शैयाको पशुपति चौलागाईं स्मृति अस्पताल, ३६ शैयाको रामेछाप अस्पताल र २५ शैयाकै टोखा चण्डेश्वरी अस्पतालमा सामान्य शैया मात्र उपलब्ध छन्् ।
प्रादेशिक अस्पतालमध्ये सबभन्दा बढी शैया अर्थात् १८८ शैया हेटौँडा अस्पतालमा रहे पनि क्याबिन र आइसियु गरी १३ शैया, त्रिशूली अस्पतालमा १०४ शैया रहेकामा क्याबिन एक, एनआइसियु चार र आइसियु सात गरी १२ तथा ९० शैया रहेको बकुलर रत्ननगर अस्पतालमा क्याबिन एक, एनआइसियु आठ र आइसियु पाँच गरी १४ विशिष्टीकृत शैया रहेको मन्त्रालयको तथ्याङ्कमा छ । प्रादेशिक अस्पतालमध्ये क्याबिन र एनआइसियु शैया पाँच पाँच वटा अस्पतालमा तथा आइसियु शैया सात वटा अस्पतालमा रहेका छन् ।
कमजोर विशेषज्ञ सेवा
प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेश सरकार मातहतका अस्पताललाई क्रमशः सुविधासम्पन्नसँगै विशिष्टीकृत सेवा प्रवाहमा जोड दिँदै जाने योजना रहेको बताउनुहुन्छ ।
प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा प्रदान गरी स्थानीय स्तरबाट नै स्वास्थ्य सेवा नागरिकले पाउने अवस्थाको सुनिश्चितताका लागि विशिष्ट चिकित्सक, सेवासँगै विशिष्टीकृत शैया चालु आर्थिक वर्षमा थप गर्ने योजना रहेको मन्त्री जोशीले जानकारी दिनुभयो । विशिष्ट सेवा प्रादेशिक अस्पतालमा नै पाउने गरी “अस्पतालको सुधार र सुदृढीकरणका लागि बजेट विनियोजन गरिएको छ । प्रादेशिक अस्पतालमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक उपकरण पनि थप गर्दै जाने तयारीमा छौँ,” मन्त्री जोशीले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासँगै विशिष्टीकृत शैया चालु आवमा पनि थप गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिँदै प्रादेशिक अस्पतालको स्तरोन्नतिमा मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनुभयो । “विशेषज्ञ सेवा दिने जनशक्ति कति उपलब्ध हुन्छ सोही अनुसार विशिष्टीकृत शैया थपिन्छन््, विशेषज्ञ सेवा विस्तार गर्ने योजना छ तर विशिष्टीकृत शैया कति थप्ने भन्ने यकिन भइसकेको छैन,” प्रवक्ता तिवारीले भन्नुभयो । उहाँले प्रादेशिक अस्पतालमा आउने बिरामीको चाप र अस्पतालमा पहिले कायम भएका जनशक्तिको अनुपात नमिलेका कारण करारमा विशेषज्ञसहितको जनशक्ति राख्न आवेदन माग भएको बताउनुभयो ।
यसैबिच भदौ १ देखि प्रादेशिक अस्पतालमा सामान्य शैया निःशुल्क भएको छ । अस्पतालमा उपलब्ध शैयामध्ये क्याबिन, एआइसियु र आइसियुबाहेकका शैया निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । प्रदेश सरकारको यो निर्णयले १३ वटा प्रादेशिक अस्पतालका गरी ८११ वटा शैया निःशुल्क रूपमा नागरिकलाई उपलब्ध हुने छन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले पुनर्बास र फिजियोथेरापी सेवा निःशुल्क रूपमा उपलब्ध गराउने भएका छन् । गोरखापत्रबाट ।