हेटाैंडा । बागमती र मधेस प्रदेशका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको छ । बागतीका सिन्धुपाल्चोक, मकवानपुर, चितवन तथा मधेस प्रदेशका बारा, पर्सालगायतका जिल्लामा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतैकतै ठूलो पानी परेको छ ।
पानी परिरहेका जिल्ला र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ । जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
साथै, हिजो/अस्ति पनि लगातार पानी परेका ठाउँमा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । आज पनि बागमती, कोशी र मधेस प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।